1

पाँचौं पटक चुनावी मैदानमा

हरियो पाटी

हरियो पाटी

0
SHARES
3
VIEWS

चितवन – माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले अन्तिम समयमा छोडेको चितवन–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विक्रम पाण्डे चर्चामा छन् । निर्माण व्यवसाय क्षेत्रमा चिनिएका पाण्डे राजनीतिमा पनि नयाँ अनुहार होइनन् । उनी यही क्षेत्रबाट पाँचौं पटक संसदीय निर्वाचन लड्दै छन् ।

एमालेले चुनावी मैदान छोडिसकेको छ । माओवादी अध्यक्ष दाहाल गोरखातर्फ लागेपछि गठबन्धनबाट चिकित्सा पृष्ठभूमिका डा. भोजराज अधिकारी उम्मेदवार छन् । गठबन्धनबाट पुनः माओवादीलाई टिकट दिइएपछि कांग्रेसका दुई नेताहरू दिनेश कोइराला र जगन्नाथ पौडेल फरक–फरक चुनाव चिह्नमा स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका छन् । यस्तोमा लगातार निर्वाचनमा होमिरहेका पाण्डेको चर्चा हुनु स्वाभाविक छ ।

०५६ को संसदीय निर्वाचनमा पाण्डे चुनाव चिह्न हलो लिएर यही क्षेत्रबाट पहिलो पटक उम्मेदवार बने । जितभन्दा धेरै हारको पृष्ठभूमि भए पनि पाण्डेले हरेक निर्वाचनमा पार्टीगतभन्दा पनि व्यक्तिगत लोकप्रियताको मत पाउने गरेको देखिन्छ । ०७४ सालको निर्वाचनमा पाण्डेलाई सघाएको कांग्रेसले यो क्षेत्रबाट समानुपातिकमा २६ हजारभन्दा बढी मत ल्याएको थियो । उनको दल राप्रपाले भने समानुपातिकमा ५ हजार मात्रै मत पाएको थियो । तर, पाण्डे स्वयम्ले भने ३८ हजारभन्दा बढी मत ल्याएका थिए । त्यसबेला गठबन्धनको कुल समानुपातिक मतभन्दा ७ हजार बढी मत ल्याएकै कारण यसपल्ट पनि उनले व्यक्तिगत मत धेरै ल्याउन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

पाण्डे उम्मेदवार बन्दै आएको माडीयताको पश्चिम चितवन क्षेत्र कहिले ४ नम्बर, कहिले ५ नम्बर हुँदै ०७४ सालको निर्वाचनयता चितवन–३ भएको छ । पहिलो पटक निर्वाचन लड्दा पाण्डेसँग प्रतिस्पर्धी थिए कांग्रेसका नारायण शर्मा पौडेल र एमालेका विजय सुवेदी । कांग्रेसका जिल्ला सभापति भइसकेका पौडेल उक्त निर्वाचनमा विजयी हुँदा पाण्डे निकटतम प्रतिद्वन्द्वी रहे । ०६४ मा भएको संविधान सभा सदस्यको पहिलो निर्वाचनमा भने उनी तेस्रो नम्बरमा खुम्चिए । तर, ०७० को संविधानसभा सदस्य निर्वाचनमा उनले एमाले, कांग्रेस र माओवादीका उम्मेदवारलाई हराउँदै विजयी भए ।

०७४ मा पनि पाण्डे चुनावी मैदानमै थिए । उनका मुख्य प्रतिस्पर्धी थिए, एमालेको समर्थन पाएका माओवादी केन्द्रका अध्यक्ष दाहाल । कांग्रेसको समर्थन मिले पनि पाण्डेले ९ हजारभन्दा बढी मतान्तरले हार व्यहोरे । तर, यसपाला भने परिस्थिति पाण्डेका निम्ति अघिल्ला निर्वाचनभन्दा अनुकूल नै देखिन्छ । राप्रपाले चितवनबाट पाउने गरेको मत हेर्दा यो बलियो शक्तिका रूपमा देखिँदैन । तर, पाण्डेको प्रभाव भने पश्चिम चितवनदेखि माडीसम्मै देखिन्छ । चितवनका पुराना वामपन्थी नेता प्रेम रिमालको बुझाइमा पाण्डे ठेक्कापट्टादेखि सञ्चारमाध्यमसम्मको लगानीबाट पश्चिम क्षेत्रसँग जोडिएका छन् । त्यसको फाइदा उनले लिन सक्ने देखिन्छ ।

६९ वर्षीय पाण्डेको ठेक्कापट्टाको पृष्ठभूमिले पनि उनलाई हरेक निर्वाचनमा दह्रो गरी उभिन सक्ने बनाएको रिमाल मान्छन् । आफू जन्मिएको लमजुङमा ०३३ सालमा झोलुंगे पुल बनाएर निर्माण क्षेत्रमा हात हालेका पाण्डेको लगानी कालीका ग्रुप र मुख्यगरी कालिका कन्स्ट्रक्सन प्रालिमार्फत देश–विदेशसम्मै फैलिएको छ । कालिका ग्रुपमा कालिका एफएम, टीभीदेखि जलविद्युत् र कृषिसम्मका कम्पनीहरू छन् । उनको कम्पनीले माडी जाने राप्ती र रिउ खोलाको ठेक्का पारेर बनाएको थियो । साथै माडीमा कालोपत्रे गर्ने काम पनि उनकै कम्पनीले ठेक्का पारेर गरेको थियो ।

प्रत्येक निर्वाचनमा पाण्डेमाथि विरोधीहरूले एउटै आरोप लगाउँछन्– सरकारबाट ठेक्का पारेर गरेको कामलाई आफूले गरेको भनेर उनी प्रचार गर्छन् र निर्वाचनमा आर्थिक लगानी पनि गर्छन् । तर, पाण्डे आफ्नो कम्पनीले पाएको ठेक्कालाई आफूले गरेको काम भनेर कहिल्यै कतै नभनेको दाबी गर्छन् । ‘पैसा बाँड्ने कुरा कसरी आएको हो भने विक्रम पाण्डेले पैसा दिन्छ तिमीहरूले किन नदिएको हो भनेर पैसा झार्ने मेसो गर्नेहरू हुँदा रहेछन् । यो उनीहरूले नै फैलाएको नचाहिँदो हल्ला हो,’ उनको भनाइ छ ।

०४६ सालअघि राजनीतिमा खासै नदेखिएका पाण्डे पञ्चायतका नेताहरूले राप्रपा बनाएपछि सूर्यबहादुर थापाको पक्षमा लागे । उनी चितवनको जिल्ला उपाध्यक्षसम्म भए । पार्टीको पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनी गत वर्ष काठमाडौंमा भएको महाधिवेशनबाट पार्टी उपाध्यक्षमा चुनिए । पाण्डेमाथि जिल्लामा संगठन बलियो बनाउन भूमिका नखेलेको आरोप पनि पार्टीभित्रैबाट लाग्छ । उनी यसलाई घुमाउरो गरी स्विकार्दै भन्छन्,

‘म संगठनभन्दा पनि काम गरेपछि मतदाताले भोट हाल्छन् भन्ने विश्वासले राजनीति गर्ने मान्छे हो ।’

सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचारको मुद्दा खेपेर सफाइ पाएका पाण्डेले वैचारिकभन्दा विकास गर्ने व्यक्तिको छविकै कारण आफूले मत पाउने दाबी गरे । गएको संसदीय निर्वाचनमा कांग्रेससँग र वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेको हुँदा पाण्डे यी दुई पार्टीका नेता–कार्यकर्ता र मतदातासँग राम्रैसँग घुलमिल देखिन्छन् । वाम विचारक रिमाल भने चितवन विगतदेखि नै क्रान्तिकारीहरूकै भूमि भए पनि नेतृत्वले विचार प्रशिक्षण जारी नराख्दा, कार्यकर्ता विचारविहीन भएको तर्क गर्दै भन्छन्, ‘मतदाताले सोचेअनुसार नेता नपाउँदा पाण्डेजस्ता व्यक्तिहरूको उदय भएको हो ।’

तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र–३ सबैभन्दा धेरै मतदाता रहेको क्षेत्र हो । यहाँ मतदाताको संख्या एक लाख ४४ हजार २ सय ८३ छ । भरतपुर महानगरपालिकाका २९ मध्ये पश्चिम क्षेत्रका १९ वटा र माडी नगरपालिका यो क्षेत्रमा पर्छ । यस क्षेत्रमा २० जना चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित