सिरहा यही असोज १३ गते राजस्व अनुसन्धान कार्यालय इटहरीले सिरहाबाट झण्डै ५० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गर्यो । विशेष टोलीले सिरहास्थित माडर भन्सार कार्यालय नजिकै रहेको सिरहा नगरपालिका–१५ को सीमावर्ती बुधौरा गाउँस्थित चन्द्रनारायण यादव आधारभूत विद्यालय परिसरमा रहेको बगैँचाबाट लुकाएर राखेको लत्ताकपडा बरामद गरेको थियो ।
त्यसको भोलिपल्टै असोज १४ गते राजस्व अनुसन्धान कार्यालय इटहरीकै टोलीले लत्ताकपडा सहितको ट्रक नियन्त्रणमा लियो । अनुसन्धान टोलीले आइतबार दिउँसो चोहर्वातर्फ जाँदै गरेको भन्सार छली गरिएको लत्ताकपडासहित अन्य सामान बोकेको प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।
राजस्वको टोलीले तेश्रो दिनसमेत छापा हानी अवैध कपडा बरामद गर्यो । असोज १५ गते सोमबार सिरहा नगरपालिका–१५ सुखचैनाबाट अवैध कपडा बरामद गर्यो । भन्सार छलेर भारतबाट ल्याएको करिब ३२ लाख मूल्य बराबरको १६ गाँठ लत्ताकपडा बरामद गरिएको थियो ।
लगत्तै असोज १६ गते मंगलबार विहान सशस्त्र प्रहरी बल सिरहाले पनि सिरहा नगरपालिका–१८ तारापट्टी टोलबाट लुकाई राखेको करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ७८ पोका लत्ताकपडा बरामद गर्यो ।
-
- उक्त कपडा बरामद भएको स्थान भारतीय सीमाबाट करिब ६ किलोमिटर र सशस्त्र प्रहरी गण नम्बर–७ बाट ४ किलोमिटरको मात्र दूरीमा छ ।
-
- यस अघि मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको थियो । त्यहाँबाट समेत अवैध लत्ताकपडा बरामद भयो ।राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट मात्रै करिव दुई करोड बढीको भन्सार छलेर ल्याएको लत्ताकपडा यसै साता बरामद गरेको राजश्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिएका छन् ।राजस्व अनुसन्धान कार्यालयले मोरङ्ग र सुनसरीबाट हुने चोरी तस्करीमा निगरानी बढाएपछि त्यस क्षेत्रका तस्करहरु मधेस प्रदेशको सप्तरी, सिरहा र धनुषाका नाकाहरु प्रयोग गरेको देखिएको प्रमुख सुरेश आचार्यले बताए ।
-
- ‘सुनसरी, मोरङ्गमा हाम्रो उपस्थितिले गर्दा चोरी तस्करी नियन्त्रण भएपछि अहिले तस्करहरु पश्चिमतर्फ सर्दै आएको देखिएको छ,’ प्रमुख आचार्यले भने ।‘कडाइ गरिएपछि अहिले तस्करहरुम्को भागाभाग छ,’ उनले भने, ‘हामीलाई प्राप्त जानकारी अनुसार अहिले उनीहरु पक्राउ पर्ने डरले अहिले भारततिर भागेको खबर छ । अनुसन्धान जारी छ, वारेन्ट जारी गरेर उनीहरुलाई पक्राउ गरिनेछ ।’उनले सिरहामा भईरहेको संस्थागत तस्करीलाई नियन्त्रणमा लिएको बताए ।
- यता प्रहरी प्रशासनकै मिलोमतोमा सिरहामा ठूलो परिमाणमा निर्वाध रुपमा तस्करी भईरहको देखिएको छ ।आन्तरिक राजश्व कार्यालयले सिरहामा निरन्तर ठूलो परिमाणमा लत्ताकपडा बरामद गर्नुले प्रहरी, प्रशासन र भन्सारकै कर्मचारीको मिलोमतोमा व्यापक तस्करी भइरहेको देखिएको हो ।
सिरहासँग सीमा जोडिएको भारतको जयनगर, लदनिया लगायतको बजारबाट सिरहाका विभिन्न नाका भएर अवैध रूपमा तस्करी भइरहेको गुनासो बढेपछि माथिल्लो निकायले नै सक्रियता बढाएको छ । यसले अबैध समान पक्राउमा सफलता मिलेको छ ।भन्सार कर्मचारी, स्थानीय स्तरदेखि जिल्लाका प्रहरी अधिकृतसँग महिनावारी रकम बुझाउने सर्तमा केही महिना यता तस्करी फस्टाएको छ । सिरहाको करिब ४६ किलोमिटर खुल्ला सीमा नाकामा दर्जनौँ स्थानमा प्रहरी विट राखी प्रहरी परिचालित छन् । तर, तस्करीको ग्राफ बढेको तथ्यहरुले देखाएको छ ।पछिल्लो एक सातामा राजश्व अनुसन्धान कार्यालयले दिनहुँ कपडा बरामद गर्न थालेपछि सिरहाका प्रहरी अधिकारीहरु दबाब खेप्न नसकेर आफ्नो बचाउका लागि भएपनि केही सामान पक्राउ गरिरहेको स्रोतको दाबी छ । एसपी र डीएसपी तानिएचोरी तस्करी गरि ल्याइएको करोडौंको सामान धमाधम राजश्वले बरामद गरेपछि सिरहाका सशस्त्र प्रहरीका एसपी र डीएसपी अनुसन्धानका लागि तानिएका छन् ।
प्रहरीकै मिलोमतोमा खुलेयाम तस्करी भइरहेको सूचना बाहिरिएपछि सिरहाका सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक एवम् प्रमुख प्रमोद भारती र सशस्त्र प्रहरी बल बोर्डर पोस्ट माडरका प्रमुख डीएसपी रामहरि खड्कालाई जिम्मेवारीबाट हटाएर प्रदेशले अनुसन्धान थालिसकेको छ ।गत शनिबार ती दुईसहित २८ जना प्रहरी अधिकृत अनुसन्धानमा तानिएका छन् । तर सशस्त्र प्रहरी मधेस प्रदेशको डिआईजी दीपेन्द्र शाहले भने उनीहरुलाई तानिएको नभई सो विषयमा सत्यतथ्य जानकारी लिन बोलाइएको र जानकारी लिएर केही दिनमै फिर्ता पठाउने बताए ।
कहाँ कहाँबाट हुन्छ तस्करी ?
सप्तरीको कुनौली, तिलाठी, कोदरकट्टी, क्षुटकी, हनुमान नगर, साठी, सखडा तिलाठ्ठी र पोता नाकाबाट व्यापक मात्रामा तस्करी भइरहेको छ । यीमध्ये कुनौलीसहितका केही सीमा नाकाबाट ठुलो मात्रामा ट्रकमै सामानहरु सेटिङमा तस्करी हुने गरेको स्रोत बताउँछ ।धनुषाको जयनगर नजिक पर्ने ईनर्वा, दुहवी, महिनाथपुर, जटही, मुखियापट्टि, खजुरी लगायतबाट व्यापक मात्रामा काजु र कपडाको लाइन चलिरहेको छ भने धनुषाको इनर्वाबाट दैनिक मदिरा तस्करी भइरहेको छ ।
- उता, दुहबीमा पहिले स्टोर गरी खाद्यान्न र महिनाथपुर हुँदै नेपालबाट भारत गाई तस्करी हुने गरेको छ । दुहबी हुँदै धनुषाको बालगंगा नहर र सँगै रहेको बाटो हुँदै सबैलामा दोश्रो स्टोर गर्ने गरी तस्करी भईरहेको स्रोत बताउँछ ।
यसैगरी, महोत्तरीको धीरापुर, बिर्तामोड, सम्सी, मटिहानी, रामगोपालपुर, खैरमणि, इटहर्वा, पोखर भिण्डा रघुनाथपुरबाट पनि तस्करीको लाइन चलिरहेको छ ।महोत्तरीको अजमरपटी गाँजा तस्करीको ट्रान्जिट प्वाईन्ट रहेको छ । जहाँ हतियारसहित तस्करले गाजा तस्करी गर्छन् । २० किलोको एक पोका गाँजा सिमाना कटाउन तस्करहरुले १५ सय रुपैयाँ दिने गरेको पनि खुलेको छ ।यस्तै, महोत्तरीकै सम्सी नाकालाई गाई तस्करीको तथा मटिहानी चाँदी तस्करीको ट्रान्जिट प्वाईन्ट भनेर चिनिन्छ । उता, सिरहाको माडर, ठाँडी बरियारपट्टी, सुखीपुर, झाझपट्टी नाकाबाट व्यापक मात्रामा तस्करी भइरहेको छ ।अर्थविद् डा. भोगेन्द्र झा तस्करीले अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने बताउँछन् । तस्करी नरोकिए राज्यको अर्थतन्त्रमा दूरगामी असर पर्ने भएकाले यसमा सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ । उनले यस्तो गतिविधिले आन्तरिक व्यापारमा प्रतिकुल असर परी असल मनसायका व्यापारी पलायन भइरहेको बताए ।
Discussion about this post