जेठ ३० सिरहा – मनसुन भित्रिनै लाग्दा सिरहा सहित मुलुकमा क्रमशः वर्षाको दर बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा एक सय २५ वटा मापन केन्द्रमा वर्षा मापन भएको छ।
जसमध्ये सबैभन्दा बढी वर्षा खोटाङको दिक्तेलमा २०५.४ मिलिमिटर वर्षा मापन भएको छ। दुईवटा केन्द्रमा सय मिलिमिटरभन्दा धेरै वर्षा भएकोे छ।
वर्षा मापन गरिएका केन्द्रमध्ये ६३ वटामा १० मिलिमिटरभन्दा बढी, ३७ वटामा २५ मिलिमिटरभन्दा बढी, १३ वटामा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको विभागले जनाएको छ।
मुलुकमा दुई सय ६५ वटा वर्षा मापन केन्द्र छन्। आइतबार भने ५७ केन्द्रमा मात्र वर्षा रेकर्ड भएको थियो, जसमा सबैभन्दा बढी वर्षा दोलखाको जिरी केन्द्रमा ७४.४ मिमि थियो। त्यसअघिल्लो दिन ४० वटा केन्द्रमा वर्षा मापन हुँदा झापाको अनारमनी बिर्ता केन्द्रमा ६३.२ मिलिमिटर वर्षा रकर्ड भएको थियो।
कहाँ–कहाँ हुँदै छ वर्षा ?
पछिल्लो एक घन्टामा काठमाडौं, भक्तपुर र ललितपुरका केही क्षेत्रसँगै सिन्धुली, कास्की, नवलपुरमा हल्का वर्षा भएको छ। १२ घन्टाको विवरण हेर्दा पूर्वी तराईको झापा, मोरङमा वर्षा हुँदा पूर्वी पहाडका लगभग धेरैजसो क्षेत्रमा वर्षा भएको छ। त्यस्तै, पहाडी क्षेत्रमा काठमाडौं वरपरका क्षेत्रसहित पोखरासम्म वर्षा भएको छ।
तर, तराई क्षेत्रमा मधेस प्रदेशसहितको पश्चिम क्षेत्र (नवलपुर र आसपासका केही क्षेत्रबाहेक)मा वर्षा हुन सकेको छैन भने पहाडी भेगमा कास्कीदेखि पश्चिमको क्षेत्रमा पनि पानी पर्न सकेको छैन। यद्यपि, ती क्षेत्रका केही स्थानमा बदली भने रहेको छ।
पछिल्लो १२ घन्टामा गोरखा र लमजुङ क्षेत्रमा मध्यम वर्षा भएको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीका कारण वर्षा भइरहेको र यसले तापक्रम घटाउँदा जनजीवन सहज बन्दै गएको स्थानीय बताए।
Discussion about this post