1

५४ हजार तिरेपछि वीरेन्द्र सदाको शव परिवारलाई

हरियो पाटी

हरियो पाटी

0
SHARES
9
VIEWS

सिरहा बैशाख २३- सिरहा हस्पिटलमा बन्धक रहेका शव आज परिवारले ५४ हजार रुपैयाँ बुझाएपछि विराटनगरको न्युरो कार्डियो एन्ड मल्टिस्पेसलिस्ट हस्पिटलले सिराहाका वीरेन्द्र सदाको शव शुक्रबार आफन्तलाई सुम्पिएको छ । सहयोग संकलनमार्फत जुटेकोमध्ये ५४ हजार न्युरोलाई बुझाएपछि तीन लाख ६८ हजार मिनाहा गरेर शव लग्न दिइएको हो ।

अस्पतालनजिकैको आयान फार्मेसीले पनि दुई लाख १६ हजार मिनाहा गरेको सदा परिवारका छिमेकी रहेका सञ्जय मण्डलले जानकारी दिए । फार्मेसीले यसअघि औषधिबापतको ६० हजार पाइसकेको थियो । ‘हामीसँग भएको ५४ हजार अस्पताललाई दियौँ,’ मण्डलका अनुसार ‘आवश्यक कागजी प्रक्रिया पुर्‍याएर शुक्रबार साँझ ६ बजेतिर शव हामीलाई सुम्पिएको छ । अस्पताल र फार्मेसीको बाँकी पैसा मिनाहा गरेका छन् ।’

शव बन्धकमुक्त बनाउन सामाजिक सञ्जालमा अभियान चलाउँदै आर्थिक संकलन जुटाउने प्रयास गरिएको थियो । युवाहरू मिर्चैया बजारमा पनि आर्थिक सहयोग जुटाउन खटिएका थिए ।

सिराहा नगरपालिका– १४ खिरौनाको नवटोली मुसहरी टोल घर भई हाल मिर्चैया नगरपालिका– ५ शान्ति चोकमा परिवारसहित डेरा गरी बस्दै आएका ४० वर्षीय सदाको १८ वैशाखमा मृत्यु भए पनि परिवारजनले औषधोपचारबापतको पैसा तिर्न नसक्दा शव उठ्न सकेको थिएन । वीरेन्द्रका जेठा छोरा अंकितका अनुसार यसअघि अस्पताल फार्मेसीलाई झन्डै साढे सात लाख तिर्न बाँकी थियो । २६ चैतमा अस्पतालमा भर्ना गर्दा नै दुई लाख रुपैयाँ डिपोजिट गरिएको थियो ।

श्रीमती, दुई छोरा र एक छोरीसँगै शान्ति चोकमा डेरा गरी बस्दै आएका सदा गुजारा चलाउननजिकै रहेको पुस्तक पसलमा काम गर्थे । उच्च रक्तचापबाट पीडित उनलाई २६ चैतमा मस्तिष्कघात भएको थियो । लगत्तै परिवारले उपचारका लागि विराटनगरको न्युरो कार्डियोमा लगेका थिए । भेन्टिलेटरमा राखेर उपचारकै क्रममा १८ वैशाखमा उनको निधन भएको थियो ।

छोरा अंकित नेपाल राष्ट्रिय फूलकुमारी विद्यालयमा कक्षा १२ मा पढ्छन् भने छोरी अञ्जलीले कक्षा १२ पास गरेकी छिन् । अर्का छोरा अंशु कक्षा ७ मा पढ्दै छन् । श्रीमती मालती स्टाफ नर्स हुन् । दलित कोटाबाट छात्रवृत्ति पाएर उनी ०७० मा स्टाफ नर्समा जनकपुरबाट पास भइन् । डेढ वर्षअघि प्रादेशिक अस्पताल (तत्कालीन जिल्ला अस्पताल) सिराहामा स्टाफ नर्समा करार सेवामा काम गरे पनि पछिल्लो समय आफ्नो र श्रीमान्को स्वास्थ्यमा समस्या आएपछि घरमै बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित