तनहुँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ । सोमबार रातिसम्मको गणनामा वाग्ले निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा झन्डै १२ हजार मतले अगाडि रहेका छन् ।
निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार वाग्लेले २८ हजार २ सय ५१ मत प्राप्त गरेका छन् । कुल ६३ हजार ७ सय ५७ मत खसेको तनहुँ-१ मा कांग्रेस उम्मेदवार भट्टराईले १५ हजार ७ सय ४५ मत प्राप्त गरेका छन् । वाग्ले र भट्टराईबीच रहेको मतान्तरभन्दा कम मत गन्न बाँकी रहेकाले वाग्लेको जित सुनिश्चित भएको हो ।
त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले ७ हजार १ सय १२ मत प्राप्त गरेका छन् । कुल ४२ वडा रहेको तनहुँ-१ का ३६ वडाको मतगणना सकिइसकेको छ भने अब ६ वटा वडाको मत गन्न बाँकी रहेको छ ।
व्यास नगरपालिकाका ७, ८, ९, १०, ११ र १२ को मतपरिणाम आउन बाँकी छ ।कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले पराजय स्विकार्दै मतदातालाई धन्यवाद पनि दिइसकेका छन् । उनले आफू आब्बल प्रमाणित हुन नसकेको बताएका छन् । उनले आइतबार भएको उपनिर्वाचनमा जनादेशलाई शिरोपर गर्ने बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले आफूलाई विश्वासयोग्य बनाउन अझ प्रयास गर्ने बताएका छन् ।
Discussion about this post