काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।
आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आवद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापी रूपमा आतुर रहेकाले जित सुनिश्चित रहेको बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।
नेत्री राणाले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने धारणा राख्नुभयो ।
नेत्री डा. राणाले यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरू धेरै काम भएका प्रसङ्ग पनि सो अवसरमा उल्लेख गर्नुभयो ।
नेत्री राणा आइतबार छठको अवसरमा पूजा एवं दर्शन गर्न जनकपुरधाम जानुभएको हो । उहाँले आइतबार दिउँसो जनकपुरधामस्थित गङ्गासागरमा छठ पर्वको ब्रत एवं पूजाआजाको अवलोकन गर्ने कार्यक्रम छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने क्रममा नेत्री राणा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको गृह गाउँ नगराइन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नं ३ का क्षेत्रीय सभापति धीरेन्द्र निधिले जानकारी दिनुभयो ।
Discussion about this post